साम्बाको दसैँ : चाडपर्वमा भन्दा पनि उपचारमै केन्द्रित « Nagarik Khabar

साम्बाको दसैँ : चाडपर्वमा भन्दा पनि उपचारमै केन्द्रित



  • रमेश सुवेदी

काठमाडैँ । हिन्दुहरूको महान् चाड दसैँ घरघरमा भित्रिएको छ । बडादसैँ हर्षोउल्लास छाएको छ । आफ्ना इष्ट मित्र, घर परिवारबाट टाढा रहेकाहरूको एकै समयमा भेट हुने पर्वसमेत हो, दसैँ । महान् चाड दसैँबाट नेपाली खेलकुद क्षेत्र अक्षुतो रहने कुरै भएन । कोरोना महामारीअघि नेपाली खेलाडी कोही स्वदेशमै रमाइलो गर्न व्यस्त हुन्थ्ये भने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीहरू विदेशमा कुनै न कुनै प्रतियोगितामा व्यस्त हुन्थे ।

तर, लगातार कोरोनाका कारण प्रायः खेलकुद गतिविधि ठप्प हुँदा यस पटक भने खेलाडीहरूले घर परिवारलाई समय दिन भ्याएका छन् । पुरुष फुटबल टोलीलाई छाड्ने हो भने नेपालका चलायमान खेलका खेलाडी स्वदेशमै छन् । घरेलु प्रतियोगिताहरू समेत सकिएका छन् ।

यति बेला पुरुष फुटबल टोली १३औँ संस्करणको साफ च्याम्पियनसिप फाइनल नजिक रहेको छ । नेपाली टोलीले मालेमै दसैं मनाउने छ । यसअघि समेत टोलीले दसैँ अष्टेलियामा मनाएको थियो ।

पुरुष फुटबलबाहेकका खेलाडीले स्वदेशमै दसैँ मनाउँदा नेपाल राष्ट्रिय महिला खेलाडी सावित्रा भण्डारी (साम्बा)को दसैँ भने विदेशमै हुने भएको छ । चोटका कारण कतारमा रहेकी सावित्राको विश्व चर्चित अस्पेटार अस्पतालमा घुँडाको एसियल शल्यक्रिया भएको छ । शल्यक्रियापछि सावित्रा यतिबेला रिह्याबमा रहेकी छिन् । यद्यपि उनले अझै बल छुन पाउने छैनन् ।

सामान्य अवस्थामा एसिएल शल्यक्रिया भएको तीन महिनापछि मात्रै खुट्टाले ‘बल टच’ गर्न पाइनेछ । त्यो पनि अवस्था हेरेर । घुँडाको शल्यक्रियापछि रिह्याबमा रहेकी सावित्राको दसैँ कतारमै हुने पक्का छ । उनले यस पटक मैदान बाहिर रहे पनि अघिल्ला वर्षहरूका झैँ विदेशमा रहँदा घरपरिवारसँग रमाइलो गरि दसैँ मनाउन पाउने छैनन् ।

‘हाम्रो महान चाडनै दसैँ हो । घर परिवारबाट टाढा छु । सबैलाई मिस गरिरहेको छु । दसैँ विदेशमै हुने भयो,’ राष्ट्रिय महिला फुटबल टोलीका सर्वाधिक गोलकर्ता समेत रहेकी सावित्राले भनिन् ।

गत फागुनमा भएको राष्ट्रिय महिला लिगमा सावित्राले घुँडाको चोट बोकेकी थिइन् । विभागीय नेपाल पुलिस क्लबविरुद्धको खेलमा ‘ल्यान्ड’ गर्ने क्रममा सावित्राले चोट बोक्न पुगिन् । दोस्रो हाफमै मैदान छाडिन् ।

लगत्तै अस्पताल पुर्‍याएर सावित्राको एमआरआई गर्दा घुँडाको एसिएल गएको पत्ता लाग्यो । योसँगै सावित्राले करिब एक वर्ष मैदान छाड्ने भइन् । सावित्राले आफ्नो खेल जीवनीमा भोगेको यो नै सबैभन्दा ठुलो तथा गम्भीर चोट हो ।

एसिएल शल्यक्रिया गर्नुपर्ने भएसँगै नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्राको उपचार अस्पेटारमा गर्न कतार फुटबल संघलाई पत्र काट्यो । जुन पत्र स्वीकृत भयो र सावित्राको विश्व प्रख्यात अस्पेटारमा उपचार भइरहेको छ ।

यदि सावित्राको अहिलेको अवस्थामा झैँ सुधार भएमा उनी कम्तिमा ३–४ महिनामा मैदान फर्कन सक्नेछिन् । चोटबाट फर्कन संघर्षरत सावित्रा यतिबेला आफ्ना शुभेच्छुकको प्रार्थना पर्खेर बसेकी छिन् । उनले भन्ने गर्छिन् ‘मेरो लागि कामना गर्नुस्, प्रार्थना गर्नुस् म चाँडै मैदान फर्कन्छु ।’

हाल कतारमा रहेकी सावित्रालाई दसैँ नजिकिँदै गर्दा घर परिवारसँग लामो सम्पर्क गर्दै आइएकी छिन् । परिवारले सावित्रालाई चाँडैं घर फर्कन भनिरहन्छन् । उनी भने उपचार गरेर चाँडै घर फर्कने आश्वासन दिँदै बसिरहेकी छिन् ।

सावित्राले यसपटक घरबाट टाढै रहे पनि बुबा आमासँग आशिर्वाद लिने र चाड पर्वमा भन्दा पनि आफ्नो ध्यान उपचारमै केन्द्रित हुने बताउँछिन् । ‘घर परिवारससँग सम्पर्क हुँदा कहिले आउने भनेर नै भन्नु हुन्छ । जति टाढा भए पनि आफ्नो बा आमाको आशिर्वाद भइहाल्छ । त्यसले गर्दा नै म खुसी छु’, सावित्रा भन्छिन् ।

यता, सावित्राको अभावमा नेपालले बंगलोदशसँग दुई मैत्रीपूर्ण खेल र उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोट खेल खेल्यो । बंगलोदशसँगको दुई मैत्रिपूर्ण र एएफसी महिला छनोटमा फिलिपिन्स र हङकङसँगको खेलमा नेपाली टिमले अग्रपंक्ति (सेन्टर स्ट्राइकर) मा पूर्ण रुपमा साबित्रालाई गुमायो ।

सावित्राको अभावमा नेपालले चारै खेलमा राम्रो छाप छाडेन । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स तथा कप्तान रेणुका नगरकोटेलेनै सावित्राको अभावमा ‘स्कोरिङ’मा समस्या भएको खुलेरै बताए ।

अष्टे«लियन नागरिक ग्यारीले त सावित्रा भएको भए हङकङविरुद्ध २०–२५ गोल हुने प्रतिक्रिया दिए । सावित्रा नहुँदा नेपालले हङकङसँग गोलरहित बराबरी खेलेको थियो । सम्पूर्ण हिन्दु धर्मावलम्बीले दसैँ मनाइरहँदा सावित्राले भने कतारमै आफूलाई सम्भव हुने गरि पर्व मनाउने छिन् । अब, सावित्रा चाँडोभन्दा चाँडो मैदान फर्कन आतुर छिन् ।

‘म जुन आफ्नो लक्ष्य, उद्देश्य लिएर उपचारको लागि आएको छु । त्यसैमा ध्यान दिएको छु । चाड पर्व ज्यान रहे अर्को वर्ष पनि मनाइएला भन्ने विश्वास छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: