साफ च्याम्पियनसिपः फाईनल खेलमा किन लगाइयो नेपालको शिक्षक अलमुताइरीलाई प्रतिबन्ध ? « Nagarik Khabar

साफ च्याम्पियनसिपः फाईनल खेलमा किन लगाइयो नेपालको शिक्षक अलमुताइरीलाई प्रतिबन्ध ?



काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ । भारतविरुद्ध हुने साफ च्याम्पियनसिप फुटबलको आज हुने फाइनल खेलमा साफले नेपालको प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध लगाएको हो ।

साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख छ तर लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई प्रतिबन्ध लगाएको हो ।

भारतका प्रशिक्षक स्टिमाचले पनि बंगलादेशविरुद्धको खेलमा रातो कार्ड नै पाएकाले उनले पनि नेपालविरुद्ध हुने फाइनल खेल गुमाउने पक्का थियो । नेपालका प्रशिक्षक अल्मुतारीलाई समेत फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको हो ।

यसमा प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाउँदै यो नियमविपरीत र अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । शनिबार बिहान भर्चुअल पत्रकार सम्मेलन गर्दै यो निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको उनले बताएका छन् ।

‘मलाई लाग्छ उनीहरु (साफ पदाधिकारीहरु) नेपालको नतिजाबाट खुसी नहुन सक्छन् । उनीहरुलाई नेपालले नजितोस् भन्ने लाग्छ । मैले तयो महसुस गरिरहेको छु’, उनले भनेका छन् ।

अलमुताइरीले नेपाललाई साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुर्याएका थिए । बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेर नेपालले इतिहास रचेको थियो ।

उनले भनेका छन्, ‘साफले अब्दुल्लाहलाई मात्रै निलम्बन गरेको होइन, नेपालको मुख्य प्रशिक्षकलाई निलम्बन गरेको हो, अब्दुल्लाह अलमुताइरी नभए पनि नेपाली टोलीले नतिजाको लागि प्रतिस्पर्धा गर्छ ।’

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (शनिबार) नेपाल र भारत भिड्दै छन् । माल्दिभ्समा जारी फाइनल खेल मालेस्थित राष्ट्रिय रंगशालामा हुँदैछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपाल साफ इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रँदै छ । साफमा भारत सबैभन्दा सफल टिम हो । हालसम्म ७ पटक उपाधि जितिसकेको भारत आठौं पटक उपाधि उचाल्ने योजनामा छन् ।

‘हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिनेछौं। हामी गोर्खाली जसरी खेल्नेछौं,’ नेपाली टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङले भने ।

जारी साफ अन्तर्गत लिग चरणमा भारतले नेपाललाई १–० ले हराएको थियो । भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

भारतविरुद्ध नेपालका विंगर तथा मुख्य खेलाडी अन्जन विष्टले खेल्ने छैनन् । दुई पहेलो कार्डको कारण उनले फाइनल खेल गुमाउने भएको छन् । यस्तै मिडफिल्डर पुजन उपरकोटीको पनि चोट लागेको कारण उनले फाइनल खेल्ने सम्भावना कम रहेको छ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: