कोरिया रोजगारः ४८ जना प्रतिबद्ध श्रमिक उडे « Nagarik Khabar

कोरिया रोजगारः ४८ जना प्रतिबद्ध श्रमिक उडे



काठमाडौं । कोरोना संक्रमणका कारण रोकिएको २० महिनापछि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत बुधबारबाट पुनः कोरिया जाने क्रम सुरु भएको छ । बुधबार पहिलो चरणमा कोरियन एयरमार्फत ४८ जना प्रतिबद्ध श्रमिक (कमिटेड वर्कर) कोरिया प्रवेश गरेका छन् ।

कोरियाले जनस्वास्थ्यसँग सम्बन्धी राखेका विभिन्न शर्त पूरा गरेपछि पहिलो चरणमा प्रतिबद्ध श्रमिक (कमिटेड वर्कर) गएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेले जानकारी दिए । उनका अनुसार, बुधबार साँझ ७ बजेको कोरियन एयरलाइन्सको उडानमार्फत ४८ युवा कोरिया गएका हुन् ।

प्रतिबद्ध श्रमिक भनेको कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित ४ वर्ष १० महिना काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका श्रमिक हुन् । कोरियामा एकै कम्पनीमा ४ वर्ष १० महिना काम गरेर फर्केका १ सय १९ श्रमिकको भिसा प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले असोजमा नै नामावली सार्वजनिक गरेको थियो ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका निर्देशक सुरेशकुमार राउतका अनुसार, नेपाली श्रमिक माग गर्ने सम्बन्धमा कोरियान पक्षसँगको लगातार छलफलपछि पहिलो चरणमा २ वर्षदेखि रोकिएका ११९ युवा जाने निश्चित भएको हो ।

यसैगरी बाँकी रहेका ६९ श्रमिकलाई मंसिर ४ गते पठाउने तयारी गरिएको छ । “नेपाली श्रमिक माग गर्ने सम्बन्धमा कोरियन पक्षले राखेको कोरोना बिमा, पीसीआर परीक्षण, सिधा हवाई उडान र १४ दिन कोरियामा क्वारेन्टिन बस्नुपर्ने लगायतका शर्त पूरा भएपछि नेपाली श्रमिक जाने बाटो खुलेको हो ।” बुधबार कोरिया गएका कुनै पनि युवाको पीसीआर परीक्षणमा पोजेटिभ नदेखिएपछि सबैको उडान भएको हो ।

हाल कोरिया प्रवेशका लागि भिसा प्रक्रियामा रहेका १ सय १९ श्रमिकलाई पठाएपछि नियमित रूपमा प्राथमिकताका आधारमा अन्य नयाँ श्रमिकलाई समेत पठाउने तयारी भएको शाखाले जनाएको छ । हाल गएका र जाने तयारीमा रहेका गरी १ सय १९ श्रमिक २०१९ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा कमिटेड श्रमिकका रूपमा नेपाल आएका धेरै छन् ।

कोरियाले कडा शर्त राखेर कोरोना संक्रमणकाबीच श्रमिक माग गरेको भए पनि यसरी जाने कोही श्रमिकमा कोरिया पुगेपछि कोरोना संक्रमण देखिए सम्पूर्ण प्रक्रिया पुनः रोकिन सक्नेमा सचेत हुन कोरियन पक्षले नेपालसँग आग्रह गरेको छ ।

लामो समय रोकिएर पुनः सुचारु भएको कोरियाको रोजगारीलाई नियमित गर्ने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र ईपीएस शाखाले कडाइका साथ परीक्षण गरेको थियो । यसलाई नियमित गराएर हाल कोरिया जाने तयारीमा त्यहाँका रोजगारदातासँग श्रम सम्झौता गरेर रोकिएका १० हजार श्रमिकलाई पनि पठाउने गरी तयारी भइरहेको छ ।

विगत २ वर्षदेखि ३ हजार कमिटेड वर्कर र ७ हजार नयाँ श्रमिक गरी १० हजार युवा रोकिएको कोरियाको रोजगारी सुचारु हुने आशामा बसेका छन् ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड १९ को कारणले विगतमा लकडाउन भई अन्तर्राष्ट्रिय उडानसमेत बन्द भएकाले दक्षिण कोरियामा नियमित तथा कमिटेड कामदारको उडान प्रकृया रोकिएको थियो ।

ईपीएसअन्तर्गत हालसम्म करिब ६५ हजारभन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन् । तीमध्ये ३५ हजारको हाराहारीमा नेपाली युवा कोरियामा कार्यरत छन् ।

नेपाली कामदारहरू कर्तव्यनिष्ठ, इमानदार, लगनशील र मेहनती भएकाले कोरियन रोजगारदाताको छनोटमा उच्च प्राथमिकतामा पर्ने गरेका कारण पनि कोरियन पक्ष नेपाली श्रमिक लैजाने सम्बन्धमा सकारात्मक भएको हो । महामारीका कारण कोरियन सरकारले अन्य १२ देशबाट समेत कामदार माग गर्ने प्रक्रियामा रोक लगाइरहेको शाखाले जनाएको छ ।

नेपाली श्रमिकलाई कोरिया पठाउने प्रकृया सुचारु गर्नका लागि नेपाल सरकारको तर्फबाट विभिन्न चरणमा एचआरडी कोरियासमक्ष प्रयास गरेको थियो । सन २०२० को मार्चबाट श्रम सम्झौता र भिसा इस्यु भएका १० हजारभन्दा बढी श्रमिक कोरिया जान नपाएर रोकिएका छन् । समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: