तेह्रथुममा तरकारी उत्पादन घट्यो « Nagarik Khabar

तेह्रथुममा तरकारी उत्पादन घट्यो



तेह्रथुम । आर्थिक बर्ष २०७७–०७८ मा तेह्रथुममा तरकारी उत्पादन घटेको छ । एक वर्षमा ६२ हजार ३ सय मेट्रिक टन तरकारी उत्पादन भए पनि अघिल्लो आर्थिक बर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ ।

०७६–०७७ मा ६४ हजार ३ सय १७ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । गत बैशाखमा आएको असिनाका कारण यसवर्ष तरकारी उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । असिनाले बिक्री हुन लागेको बन्दा र आलु खेतीमा क्षति पुग्दा तरकारी उत्पादन घटेको हो ।

जिल्लाको छथर गाउँपालिकामा अकबरे र तरकारी ब्लग दुई वटा, लालीगुराँस नगरपालिकामा तरकारी ब्लग एक वटा, म्याङलुङ नगरपालिकामा आलुबाली ब्लग एक वटा, मेन्छ्यायेम गाउँपालिकामा तरकारी ब्लग एक वटा गरी जम्मा ५ वटा ब्लग सन्चालनमा रहेको ज्ञान केन्द्रका प्रविधिक सहायत विशाल राईले जानकारी दिए । जिल्लाबाट बन्दा, काउली, अकबरे, स्कुस टमाटर बढी निर्यात हुने गरेको छ । छथर गाउँपालिका, लालीगुराँस नगरपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा उत्पादन भएको तरकारी मात्रै निर्यात हुँदै आएको छ । म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकामा उत्पादन भएको तरकारी गाउँमै खपत हुने गरेको छ ।

जिल्लाको गाउँगाउँमा स्थापना भएका कृषक समूह, कृषि सहकारी, तथा व्याक्तिगत फर्महरूमार्फत तरकारी निर्यात गर्दै आएको कृषकहरू बताउँछन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएकाले जिल्लाको सबै गाउँमा तरकारी उत्पादनमा कृषकहरू आकर्षित हुँदै आएका छन् ।

रासायनिक मलको प्रयोग गर्दै आएका किसानहरू पछिल्लो समय अर्गानिक रुपमा खेतीलाई विस्तार गर्दै आएको छथर–१ का दलुमु शेर्पाले बताए । तरकारीबालीमा पनि तेह्रथुममा भने आलु अधिक मात्रामा उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार आब २०७७–०७८ मात्रै ३५ हजार सात सय ४० मेट्रिक टन उत्पादन भएको थियो । तरकारी खेतीले कृषकहरूको जीवनस्तरमा सुधार भएसँगै आधुनिक प्रविधिको प्रयोग गरी उत्पादनलाई जोड दिन थालेका छन् । बेमौसमी तरकारी उत्पादनका लागि प्लाष्टिक घर निर्माण गरी विभिन्न प्रजातीका तरकारी खेती गर्दै आएका छन् ।

एउटै किसानको वार्षिक पाँच लाखसम्म आम्दानी

यहाँका किसानले ५० हजार देखि ५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी लिँदै आएको कृषक जंगशेर लिम्बुको भनाइ छ । ‘अन्नबालीले तीन महिना पनि खान पुग्दैनथ्यो, तर तरकारी खेती गर्न थालेपछि परिवार पाल्नुका साथै केहीँ रकम समेत जोहो हुन थालेको छ,’ उनले भने । कृषकहरूलाई अझ व्यावसायीक बनाउन स्थानीय सरकारको सहयोगमा कृषि शाखाहरूले विभिन्न कार्यक्रमहरू सन्चालन गर्दै आएको जनाएका छन् ।

जिल्लामा बन्दा, काउली, अकबरे, स्कुस टमाटर, गाँजर, मुलालगायतका तरकारी उत्पादन हुँदै आएको छ । यहाँका कृषकले पाँच रोपनीदेखि ५० रोपनीसम्मा तरकारी खेती गर्दै आएका छन् । गाउँगाउँमा सडक सन्जालहरू जोडिएसँगै कृषकहरूले उत्पादन गरेको तरकारी निर्यातको लागि सहज बनेको छ । तेह्रथुममा उत्पादन भएको तरकारी पुर्वी तराई धरान, इटहरी, विरानगरका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानमा निर्यात हुने गर्छ । तेह्रथुममा मात्रै तीन हजार २९ हेक्टरमा तरकारी उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: