म कुनै गुटबाट अध्यक्ष बनेको होइन, एमालेको अध्यक्ष हुँ : दिलिप न्यौपाने « Nagarik Khabar

म कुनै गुटबाट अध्यक्ष बनेको होइन, एमालेको अध्यक्ष हुँ : दिलिप न्यौपाने



पोखरा । देशकै ठुलो महानगर पोखरामा निकै मुस्किलका साथ एमाले नेतृत्व चयन गरिएको छ । पाँच जना आकांक्षीबाट दिलिप न्यौपाने अध्यक्ष चुनिएका छन् । पार्टी विभाजनको कठिन अवस्थामा अध्यक्ष बनेर पार्टीलाई एकीकृत बनाउने र आगामी निर्वाचनमा एमालेलाई विजयी गराउने उनको दायित्व छ । प्रस्तुत छ न्यौपानेसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंशः

पाँच जना प्रतिस्पर्धीबाट सर्वसम्मत रूपमा तपाईं अध्यक्ष बन्नुभयो, अध्यक्षका प्रत्यासीहरूलाई कसरी मिलाउनुहुन्छ ?
त्यति धेरै गाह्रो कुरा छैन । निर्वाचनमा गएर मत विभाजन भएको भए बरु चुनौती हुन्थ्यो । तर, उहाँहरूले सर्वसम्मत रूपमा मलाई अध्यक्ष बन्न सहयोग गर्नुभयो । आजको जेनेरेसनको ऊर्जालाई नेतृत्व दिनुभएको छ । उहाँहरू सबै मेरो अग्रज हुनुहुन्छ । उहाँहरूसँग मेरो प्रतिस्पर्धा, गुनासो र इगो केही रहँदैन । सम्मान गरेर, कसैलाई शिरमा, कसैलाई काँधमा र कसैलाई ढाडमा बोकेर हिँड्छु । उहाँहरूकै अभिभावकत्वमा मैले नेतृत्व गर्ने हो ।

पार्टी विभाजन भएको बेला महानगरको नेतृत्वमा आउनुभयो । पार्टी एकताबद्ध बनाउन तपाईंको भूमिका के हुन्छ ?
विभाजनको प्रभाव कास्कीमा खासै धेरै परेको छैन । जति भ्रमवश एमालेबाट चोइटिएर जानुभएका कमरेडहरूलाई छलफल गरेर पार्टीमा फर्काउन मेरो भूमिका रहन्छ । अहिले भएको भन्दा एकताबद्ध, शक्तिशाली र क्रान्तिकारी बनाउने छौँ । मलाई विश्वास छ, मैले त्यो गर्न सक्ने भएर नै नेतृत्वमा दावी गरेको थिएँ ।

स्थानीय तह र संसदीय चुनाव संघारमा छ । तपाईंको चुनाव जिताउने रोडम्याप के हो ?
पार्टीका अध्यक्षले दुई तिहाइको बहुमत साथ चुनाव जिताउछौँ भन्नुभएको छ । देशभरिको कम्युनिस्ट आन्दोलन हाँक्ने ऊर्जावान नेतृत्व हामीले पाएका छौँ । प्रधानमन्त्री केपी ओली हुँदा भएका कामको प्रचार गर्छौँ । कम्युनिस्ट आन्दोलन सखाप पार्न जुन जालझेल भयो । त्यो आक्रमणबाट प्रतिरक्षा गर्न एमालेलाई अझै शक्तिशाली बनाउनुपर्ने छ । यो लिएर हामी जनताका घरदैलोमा जान्छौँ, संगठनलाई प्रभावकारी बनाउँछौँ । ठुलो युवा पंक्ति एमालेमा आकर्षित छ । तल्ला कमिटीमा युवाको बाहुल्यता छ । यही पंक्तिलाई प्रशिक्षित गरेर स्पष्ट बहुमत दिलाउँछौँ ।

अध्यक्ष आफैँ पनि संस्था हो । तर, अहिलेको कार्यसमितिले कतिको सहयोग गर्ने खालको छ ?
मित्र बनाउने होइन, कमाउने हो । जब हामी इमान्दारीपूर्वक पूर्वाग्रह नराखी पार्टी निर्माणमा लाग्छौँ भने सबैको समर्थन हुन्छ । पार्टीमा केही समस्या आउन सक्छ, छलफल अन्तरक्रियाबाट माझेर क्रान्तिकारी स्पिरिट भर्दै यो पार्टीलाई अगाडि बढाउछौँ । सानातिना समस्या कम्युनिस्ट पार्टीका लागि सामान्य हो । हामी यसबाट आत्तिदैनौँ । बरु व्यवस्थापन गरेर लैजान्छौँ ।

तपाईंको जितले एमाले र युवा पुस्तामा जाने सन्देश के हो ?
युवा पुस्ता राजनीतिक संकटबाट फ्रस्टेसन हुन्छ कि भन्ने त्राश थियो । तर युवामा झन् आकर्षण बढेको छ । सबै दलमा युवाको आकर्षण छ । यो बढी आशावादी र ऊर्जावान छ । यसलाई पुँजीकृत गरेर राजनीतिमा लाग्यौं भने संकट, विकृति र विसंगती समाधान गर्न सक्छौँ । युवाहरू विज्ञान प्रविधिसँग जोडिएको छ, नयाँ चिन्तनसँग घुलमिल भएको छ । हामी अग्रजलाई सम्मान गर्दै उहाँहरूको सल्लाह लिएर नेतृत्व युवाले लिन्छ । पोखरामा एमालेको निर्माणको अभियान जनताको आशाको केन्द्रविन्दु एमालेमा कायम राख्छौं र थप इँट्टा भर्छौँ ।

सतहमा तपाईं खगराज अधिकारी गुटबाट निर्वाचित हुनुभयो भन्ने चर्चा छ । त्यो चर्चा कसरी चिर्नुहुन्छ ?
बजारमा भएका चर्चाहरू धेरै चिन्ता लिनुहुन्न । परिणाममा देखियो नि । कुनै नेताले कसैलाई बोकेको भए यति सहज रूपमा नतिजा आउँदैनथ्यो । यति सिनियर नेताहरूले नत्र किन सजिलै छोड्नुहुन्थ्यो र ? नेतृत्वलाई विश्वास दिलाउने क्रममा र आफ्ना विचार राख्ने क्रममा नेताहरूसँग भेटघाट र छलफल भएको हो । सबै नेताहरूसँग सबै दावेदारले भेट्नुभएको छ र कुरा राख्नुभएको छ । यो भनेको गुट होइन । नेताहरूलाई विवादमा ल्याउने र ध्रुवीकरण गर्नेतिर भन्दा उम्मेदवारबीचमै छलफल गरेर टुंग्याऔँ भनेर उहाँहरुले फिर्ता लिनुभयो र मलाई आशीर्वाद दिनुभयो । नेताहरूसँग नाम जोड्ने कुरा सामान्य हो ।

गुट फेर्नुभएको त होइन नि ? पछिल्लो समय पृथ्वीसुब्बा गुरुङसँग पनि लाग्नुभयो भन्ने सुनिन्छ ।
गुट फेर्नुपर्ने आवश्यकतै छैन नि । हिजो माधव नेपाल, केपी ओलीका नाममा बनेको गुट थिए । आज एमाले मात्रै छ भने गुट बनाउनु आवश्यक छैन । गुटबन्दी गर्न भएका चर्चा परिचर्चामा धेरै टिप्पणी गर्नुपर्ने छैन ।

यसपछि तपाईंले देख्नुभएका समस्या र त्यसको समाधान कसरी गर्नुहुन्छ ?
समस्या त एउटा कम्युनिस्ट आन्दोलनभित्र ठुलो आक्रमण छ । यसलाई जोगाएर लैजाने कुरा ठुलो चुनौती हो । धेरैको मतभेद छ । अहिले कम्युनिष्ट आन्दोलनमा जुन धक्का लागेको छ, यसको क्षतिपूर्ति उठाएर जनतालाई सचेत गरेर आन्दोलन जोगाउनु नै पहिलो चुनौती हो । दोश्रो, विकास र समृद्धिको आकांक्षा पूरा गर्न अर्को दायित्व छ । आगामी निर्वाचनमा एमालेलाई जिताउनु र राष्ट्रिय आकांक्षा पूरा गर्ने चुनौती छ । ति चुनौति सामना गर्नका लागि एमाले एकताबद्ध हुनुपर्ने छ । विचारले क्रान्तिकारी र संगठनले सशक्त बनाउने नै मुख्य कार्यभार र जिम्मेवारी हो ।

एमाले आन्तरिक चुनावसँग किन डराएको हो ?
हामी निर्वाचनसँग डराएको होइन । निर्वाचन त अन्तिम विकल्प हो नि । तर, निर्वाचनबाट हुने मनोवैज्ञानिक समस्याहरू, नकारात्मक प्रभावहरु हुने भएकाले एक दुई दिन ढिलो गरेर भए पनि कार्यकर्तालाई सम्झाएर सर्वसम्मत गर्न सके राम्रो हुन्छ भनेर हो । सर्वसम्मत हुन्छ भने सजिलोको नाममा मत विभाजन गर्नुभन्दा सर्वसम्मतमै नेतृत्व चयन गर्नु उपयुक्त विकल्प हो । यो राष्ट्रभरिको अधिवेशन उद्घाटनमा अध्यक्षज्यूले भन्नुभएको निर्देशनअनुसार यो प्रयास गरेका हौँ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: