जनप्रतिनिधिले आफ्नो क्षेत्राधिकार थाहा नपाउँदा नागरिकता पाइनन् सुनिताले « Nagarik Khabar

जनप्रतिनिधिले आफ्नो क्षेत्राधिकार थाहा नपाउँदा नागरिकता पाइनन् सुनिताले



जाजरकोट । वडा सचिवले हस्ताक्षर गर्ने ठाउँमा वडा सदस्यले हस्ताक्षर गर्दा महिनौँदेखि डोल्पाका एक दम्पत्तीले नागरिकता पाउन सकेका छैनन् । जनप्रतिनिधिलाई आफ्नो क्षेत्राधिकारका विषयमा सामान्य जानकारी नहुँदा सर्वसाधारण नागरिकले दु:ख पाउने गरेका छन् ।
रुकुम पश्चिमअन्तर्गगत आठबिसकोट नगरपालिका- ४ का वडा सदस्यले जन्म दर्ताको प्रमाणपत्रमा आफैँ हस्ताक्षर गरेपछि डोल्पाका एक दम्पत्तीले महिनौँ दु:ख पाएका हुन् ।

वडा सदस्य एवं कार्यवाहक अध्यक्ष जयरूपे कामीले पञ्जिकाधिकारीले गर्नुपर्ने ठाउँमा आफैँले जन्म दर्ता प्रमाणपत्रमा हस्ताक्षर गरेर दिएपछि उक्त नगरपालिकाबाट विवाह गरेर डोल्पा त्रिपुरासुन्दरी नगरपालिका- १ आएकी सुनिता बिकले नेपाली नागरिकता लिन खोज्दा सास्ती खेपेकी हुन् ।

उनले माइतीमा हुँदा नागरिकता बनाएकी थिइनन् । उनले जन्म दर्ता पनि गरेकी थिइनन् । विवाह गरेर आइसकेपछि डोल्पाबाटै नागरिकता बनाउने सल्लाह भयो । त्यसपछि श्रीमान् सन्देश कुलाललाई लिएर जन्मदर्ता प्रमाणपत्र लिन आफू जन्मेको ठाउँको वडा कार्यालयमा पुगिन् ।

वडा कार्यालयमा वडा अध्यक्ष थिएनन् । वडा सदस्यले हस्ताक्षर गरेर प्रमाण दिए । उक्त प्रमाणपत्रसहित अन्य कागजात मिलाएर नागरिकता लिन श्रीमान्‌सहित जिल्ला प्रशासन कार्यालय डोल्पामा पुगिन् उनी ।

उनीहरूले लिएका कागजात हेर्ने क्रममा कर्मचारीले सिधै ‘जन्म दर्तामा जनप्रतिनिधिले हस्ताक्षर गर्न मिल्दैन, त्यस कारण हामीले नागरिकता दिन सक्दैनौँ । तपाईंहरू पुनः वडा सचिव अर्थात् पञ्जिकाधिकारीले हस्ताक्षर गरेको जन्मदर्ता प्रमाणपत्र लिएर आउनुहोस्’ भनेर फर्काइदिएको बिकले बताइन् । उनले विवाह गरेर आएको त्रिपुराकोटबाट उनको जन्मथलो गोतामकोट पुग्न आरामले पैदल हिँड्ने हो भने दुई दिन लाग्छ ।

कच्ची बाटो भएकाले जोखिमपूर्ण र झन्झटिले यात्रा गरेर करिब छ घण्टामा ठाउँठाँउमा गाडी परिवर्तन गरेर गोतामकोट पुग्न सकिन्छ । कुलालको परिवार विपन्न भएकाले सरपासट गरेर गोतामकोट पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालय डोल्पामा सेवाग्राहीको खासै भीडभाड हुँदैन । एकैछिनमा नागरिकता बन्छ भन्ने उनीहरूले सुनेका थिए । तर, प्रशासनले प्रमाणपत्रमा भएको त्रुटिको कारण देखाउँदै फर्काएपछि त्यो दिन नागरिकता नबनाई घर फर्किए ।

पुनः सिफारिस लिन माइती जाने सल्लाह भयो दम्पत्तीको । त्यसको केही दिनपछि फेरि पैसाको जोहो गरेर गोतामकोट पुगे उनीहरू । प्रशासनले भनेको सबै कुरा वडा कार्यालयमा पुगेर वडा सदस्यलाई राखे । जन्म दर्तामा सचिवको हस्ताक्षर गरेर दिनुपर्‍यो भने ।

कावा वडा अध्यक्ष जयरूपे कामीले उनीहरूको कुरा पत्याएनन् । यही सिफारिसले नागरिकता बन्ने भन्दै फर्काइदिए । सोझासाझा भएकाले वडा सदस्यको कुरा पत्याएर फेरि पहिलाकै प्रमाणपत्र लिएर फर्किए ।

डोल्पा घर पुगिसकेपछि त्यही प्रमाणपत्रसहित अन्य कागजात लिएर पुन: जिल्ला प्रशासन कार्यालय डोल्पा पुगे । तर, प्रशासनले फेरि पनि फर्काइदियो । उनीहरूले ‘वडा सदस्यले यही प्रमाणपत्रले नागरिकता दिन मिल्छ । उतै केही कारणले नागरिकता नबनेको होला भन्नुभएको छ’ भनेर प्रशासनका कर्मचारीलाई वडा सदस्यले भनेको सबै कुरा बेलिविस्तार लाए । प्रशासनले अघिल्लो पटक भनेजस्तै पञ्जिकाधिकारीको हस्ताक्षर गरेको प्रमाणपत्र ल्याउन भन्दै पुनः फर्कायो ।

एउटा नागरिकता लिन महिनौँ दु:ख पाएर पनि नागरिकता नबनेपछि मन खिन्न बनाई कुलाल दम्पत्ती घर फर्किए । त्यसपछि फेरि प्रमाणपत्र लिन जाने सोच नभएको श्रीमान् सन्देश कुलालले बताए । वडा सदस्यका कारणले श्रीमतीको नागरिकता लिन धेरै दु:ख पाएको सन्देशले दुखेसो पोखे ।

‘जनप्रतिनिधिसँग थोरै पनि ज्ञान पनि नहुँदा धेरै दु:ख पाइयो । समय पनि खर्च भयो, पैसा पनि खर्च भयो तर नागरिकता बनेन’, उनले भने । अब नागरिकता बनाउने सोच नै हराएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: