हिउँदका बेला अफगानिस्तान ‘पृथ्वीको नर्क’ बन्ने डर « Nagarik Khabar

हिउँदका बेला अफगानिस्तान ‘पृथ्वीको नर्क’ बन्ने डर



अफगानिस्तानमा आसन्न भोकमरीको त्रास देखा पर्न थालेको छ। शरदको न्यायोपन हटेर बिस्तारै ठिहिर्‍याउने जाडो बढ्न थालेको छ। केही स्थानमा खडेरी परेको विवरणहरू आएका छन् जसले सम्भावित विपद्लाई झन् नराम्रो बनाउने डर पैदा गरेको छ। राजधानी काबुलभन्दा ५० माइलको दूरीमा रहेको मैदान वार्दाक सयौँ मानिसहरू पिठो पाउने आशामा बसेका छन्। त्यहाँ विश्व खाद्य कार्यक्रमले पिठो बाँड्छ।

तालिबान सैनिकले भिडलाई शान्त राखेका छन्। तर जो व्यक्तिलाई पिठो पाउन अयोग्य भनिएको छ उनीहरूमा आक्रोश र त्रासको भाव छ। “हिउँद आइसक्यो,” एक वृद्धले भने। “मैले रोटी बनाएर राख्न सकिनँ भने हिउँद कसरी कटाउने थाहा छैन।” दुई करोड २० लाख मानिसलाई सहयोग गर्न विश्व खाद्य कार्यक्रमलाई अफगानिस्तानमा खाद्य आपूर्ति बढाउनु पर्ने दबाव छ। यो हिउँद विज्ञहरूले अनुमान गरे जस्तो नराम्रो भयो भने तीमध्ये धेरै जना नराम्रो भोकमरीको चपेटामा पर्ने आकलन गरिएको छ।

आइतवार काबुल आएका विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिज्लीको विश्लेषणमा अवस्था निकै जोखिमपूर्ण छ। “तपाईँले अनुमान गर्न सक्ने जति नराम्रो अवस्था छ,” बीस्ली भन्छन्। “हामी पृथ्वीमै सबैभन्दा खराव मानवीय सङ्कट खेप्न गइरहेका छौँ।”

“पन्चानब्बे प्रतिशत मानिससँग यथेष्ट खाद्यान्न छैन। अनि अब हामी दुई करोड ३० लाख मानिस भोकमरीको प्रकोपमा पर्न गइरहेको देख्दै छौँ।” “आगामी छ महिना विपत्तिपूर्ण हुनेछ। यो पृथ्वीको नर्क हुनेछ।” अगस्टमा तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिनुअघि असरफ गनीको सरकारले विदेशी सहायताका कारण खराब हिउँदको विपद्को सामना गर्न सक्ने मानिएको थियो। तर यो अपेक्षा उनको सरकारको पतनसँगै हराएको छ।

महिलालाई शिक्षाबाट वञ्चित गर्ने र शरिया कानुनलाई लागु गर्ने पक्षमा रहेको सरकारलाई सहयोग गरेको नदेखिन पश्चिमा देशहरूले अफगानिस्तानलाई गर्ने सहयोग बन्द गरेका छन्। तर के ती देशहरू लाखौँ निर्दोष मानिसहरू चरम भोकको सिकार हुँदा चुप लागेर बस्न सक्लान्?

बीज्ली विकसित देशका सरकार र खर्बपतिहरूलाई आपत्कालीन सहयोग आवश्यक परेको बेला चुनौती दिन्छन्। “सबै विश्वका नेताहरूलाई, सबै खर्बपतिहरूलाई – सम्झनुहोस् तपाईँकी सानी छोरी वा तपाईँको सानो छोरा वा तपाईँका नातिनातिना भोकले मर्दैछन्,” उनी भन्छन्। “त्यस्तो बेला तपाईँले सक्दो गर्नुहुन्छ र जब संसारमा आजको दिनमा ४०० खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ, तपाईँलाई [केही नगर्दा] लाज लाग्नुपर्छ।”

“हामीले एउटा बच्चालाई भोकले मर्न दियौँ भने हामीलाई लाज लाग्नुपर्छ। त्यो बच्चा कहाँको हो भन्ने कुरा मतलब हुँदैन।” तालिबानले सन् २००१ मा छैटौँ शताब्दीमा पहाडको भीरमा कुँदिएको बुद्धको विशाल मूर्ति ध्वस्त बनाएको बामियान सहरमा बस्ने फातिमा र उनका सातदेखि १६ वर्षका सात सन्तानको जीवन जसोतसो चलिरहेको छ।

उनको पति पेटको क्यान्सरका कारण बितेको धेरै भएको छैन। उनीहरू चरम रूपमा गरिब छन् र त्यही भीरनजिकको एउटा गुफामा बस्छन्। तालिबानले देश नियन्त्रणमा लिनुअघि उनीले नियमित रूपमा केही पिठो र तेल सहयोग पाउँथिन् तर अगस्टदेखि त्यो रोकिएको छ।

फातिमाले नजिकैको किसानका लागि खेतमा काम गरेर केही आम्दानी गर्थिन्। तर खडेरीका कारण बाली सप्रिएन र उनले काम पाइनन्। “मलाई डर लागेको छ,” उनी भन्छिन्, “बच्चाहरूलाई दिन मसँग केही छैन। चाँडै नै म बाहिर गएर भिक्षा माग्न थाल्नुपर्छ।”

केही अभिभावकले आफ्ना छोरीको धेरै उमेर भएका मानिससँग विवाह गरिदिन बेचेका छन्। तर फातिमा त्यसो गर्न चाहन्नन्। तर खाद्यान्नको छिटै व्यवस्था नभए उनी र उनका बच्चाहरू भोकमरीको चपेटामा पर्नेछन्। नजिकैका पहाडका शिखरमा हिउँ जम्न थालेको छ र चिसो सिरेटो बग्न थालेको। हिउँद छिट्टै आउँदैछ र फातिमाजस्ता धेरै मानिसका परिवार विपत्तिको सँघारमा पुगेका छन्।

  • बीबीसीबाट
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: