३२ बर्ष पुरानो ‘तिमी तारे भीर’ मेल भर्जनमा सार्वजनिक (भिडियो) « Nagarik Khabar

३२ बर्ष पुरानो ‘तिमी तारे भीर’ मेल भर्जनमा सार्वजनिक (भिडियो)



काठमाडौं । नेपालमा पछिल्लो समय पुराना गीतलाई नयाँ भर्जनमा बनाएर सार्वजनिक गर्ने चलन बढ्दै गएको छ । यस्तै ३२ बर्ष अगाडि गायिका पवित्रा सुब्बाको आवाजमा रेकर्ड भइ दर्शकको मनमा बस्न सफल गीत ‘तिमी तारे भीर’को मेल भर्जन भिडियोसहित शनिबार सार्वजनिक गरिएको छ ।

कवि तथा गीतकार श्रवण मुकारुङले ३२ बर्ष बर्ष पहिले लेखेको यस गीतलाई मेल भर्जनमा युवा गायक रेवत राईको आवाजमा सार्वजनिक गरिएको हो । गीतलाई चर्चित संगीतकार शान्तिराम राईले संगीत भरेका छन् भने देवेश राईले संगीत संयोजन गरेका छन् ।

मकवानपुरस्थित चित्लाङ क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा लोकप्रिय अभिनेता दयाहाङ राई र मिरुना मगरको जिवन्त अभिनय देख्न सकिन्छ । यस्तै बाल कलाकार नुमा राईको पनि उत्कृष्ट अभिनय छ ।

यस भिडियोलाई भने अहिलेका निकै व्यस्त युवा निर्देशक किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् । निर्देशकले प्राकृतिक सुन्दरतामा एक प्रेमिल परिवारलाई पात्रमा बगाएका छन् । भिडियोमा माया, प्रेम र मानिसको जिबनमा हुने वियोगान्त क्षणलाई देखाइएको छ ।

सानैदेखि गीत संगीतमा होमिएका खोटाङ्गे युवा गायक रेवत राईको यस्ता थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् । उनले सांस्कृतिक जागरणका गीतहरु पनि गाएका छन् ।

कसरी सिर्जना भयो ‘तिमि तारे भीर’ ?
३२ बर्ष अगाडीको कुरा हो । काठमाडौंको रातोपुलस्थित झण्डै ८० बर्ष पुरानो बर्खेझार पलाएको घर । जुन घरको मासिक भाडा १५० रुपैयाँ तिुर्न पर्थ्यो । त्यहि घरको थोत्रो सेपीलो कोठामा बसेर ‘तिमी तारे भीर’ सिर्जना भएको कुरा भावुक हुँदै सम्झन्छन् संगीतकार शान्तिराम राई ।

‘हर्लिक्सको बोतलमा भक्तपुरे आगोबल्ने रक्सी । एकप्लेट साँधेको भटमास र काँचो अदुवाको टुक्रा । रित्तीदै जान लागेको सिल्बरको दुईटा कप । हातमा गिटार बजाउँदै छ श्रवण । गल्दैजाने देब्रे पाखुराले पुरानो हारमोनियमको कडा पंखा चलाउँदै हुन्छु म’, उनले गीतको भिडियो सार्वजनिक गर्दै लेखेका छन, ‘रातको १ बजे निथ्रुक्कै भिज्छ आँखा हाम्रो र पनि धितै नमर्ने गरी गाईरहेका हुन्छौं । रातभरि गाएर नथाक्ने ‘तिमी तारे भीर…!’ ठीक ३२ बर्ष पछि यही गीतले फेरी रुवायो ।’

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: