अध्यक्षसहित १४ पदाधिकारीका लागि निर्वाचन « Nagarik Khabar

अध्यक्षसहित १४ पदाधिकारीका लागि निर्वाचन



काठमाडौँ । चितवनमा जारी नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षसहित १४ पदाधिकारीमा निर्वाचन हुने भएको छ । केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीपछि अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि चुनावबाट पदाधिकारीको टुंगो लाग्ने भएको हो ।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित ओलीले प्रस्ताव गरेको पाँच जनाको नाममा थप उम्मेदवारी नपरेकाले निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ । त्यसबाहेक १४ पदाधिकारीका लागि निर्वाचन हुने निश्चित देखिएको छ ।

ओलीले १०औँ महाधिवेशनमा पदाधिकारी चयनका लागि तयार पारेको सूचीमा जहाँ पूर्वमाओवादीलाई समेटिएको छ, त्यहीँ एमालेको असन्तुष्ट पक्षले उम्मेदवारी दिएको छ । जसले गर्दा एमाले महाधिवेशन प्रतिनिधिले पूर्वमाओवादीलाई रोज्ने कि पार्टीभित्रकै असन्तुष्ट पुराना नेतालाई रोज्ने भन्ने जटिल निर्णय लिनुपर्ने अवस्था देखिएको छ ।

उपाध्यक्ष पदका लागि ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा‘बादल’ विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरेका छन् । ओली पक्षबाट सोही अनुसार उपाध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ । यो समूहबाट बादल पूर्वमाओवादी पृष्ठभूमिका हुन् । उपाध्यक्ष पदमै एमालेका नेता घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, सचिवमा ओलीले प्रस्ताव गरेका टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छबिलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नामप्रति असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सो पदमा पनि प्रतिस्पर्धा हुने भएको हो । ओलीको यो सूचिमा टोपबहादुर र लेखराज भट्ट पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: