गुठीको सम्पत्ति संरक्षण गर्न दीर्घकालीन योजना बनाउन मन्त्री श्रेष्ठको निर्देशन « Nagarik Khabar

गुठीको सम्पत्ति संरक्षण गर्न दीर्घकालीन योजना बनाउन मन्त्री श्रेष्ठको निर्देशन



काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी संस्थान स्थापनाको उद्देश्य, मर्म र भावना अनुरुप परिणाम देखिनेगरी काम गर्न निर्देशन दिएकी छन् ।

गुठी संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा आज संस्थानमार्फत् भइरहेका काम र आगामी कार्ययोजनाबारे जानकारी लिँदै मन्त्री श्रेष्ठले देशभर रहेका गुठीको सम्पत्तिको संरक्षण गर्न कार्ययोजना नै बनाएर अगाडि बढ्न संस्थानका पदाधिकारीहरुलाई निर्देशन दिइन् ।

गुठी सम्बन्धी धेरै गुनासाहरु छन् ति गुनासाहरु अन्त्य गर्ने, समस्यालाई जरैदेखि समाधान गर्ने र देशका कतिपय ठाउँमा रहेका गुठीका सम्पत्तिबारे अझै पनि जानकारी नै नभएको जस्ता समस्या पनि रहेकाले यस्ता समस्या हल गरेर राज्यको सम्पतिको संरक्षण गर्न तत्कालीन र दीर्घकालिन रुपमा समस्या समाधान गर्ने गरी कार्ययोजना बनाएर अगाडि बढ्न आग्रह गर्दै उनले भनिन्, “मन्त्रालय र म व्यक्तिगत तर्फबाट पनि यसका लागि सहयोग गर्न तयार छौ, हाम्रो साथ र सहयोग सधैँ रहिरहने छ ।”

उनले देशका विभिन्न भागमा रहेका गुठीको जग्गा के भइरहेको छ भनेर अरुले जानकारी दिनु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्ने भन्दै देशभर रहेका गुठीको जग्गाको यकिन तथ्याङ्क संकलन गर्न पनि निर्देशन दिइन् ।

संविधानले नै गुठीको सम्पत्ति संरक्षणको विषय सुनिश्चित गरेकाले त्यसअनुसार छिटो समस्या समाधान गर्ने गरी संस्थानले आफ्ना कामहरुलाई चुस्त दुरुस्त बनाउन ढिला गर्न नहुनेमा पनि मन्त्री श्रेष्ठले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: