अमरगढी किल्लाको बेहालः चिटीक्क पार्ने प्रयोग गरिएका टायल हराउँदै « Nagarik Khabar

अमरगढी किल्लाको बेहालः चिटीक्क पार्ने प्रयोग गरिएका टायल हराउँदै



डडेल्धुरा । बाइसे–चौबीसे राज्य एकीकरणसँगै डोटेली राज्यमा रहेर पश्चिम प्रशासक भएका बडाकाजी अमरसिंह थापाले कुमाउमा रहेको अग्रेजसँग लडाइँ लड्न अमरगढी किल्ला बनाएका थिए। अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित किल्ला समुद्री सतहबाट किल्लाको उचाइ लगभग ६ हजार ५०० फिट छ। बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यो किल्लामा कलात्मक र ठूलाठूला ढुंगा प्रयोग गरिएको छ।

पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासन कालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सिमाना सुरूमा कुमाउ गढवालसम्म पुगेको थियो।

एकीकरणको अभियानको क्रममा ३१ भदौ १८४७ मा सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबीच घमासान युद्ध भयो। डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए।

तिनै अमरसिंह थापाले यस क्षेत्रको संरक्षण तथा महाकालीपारि पश्चिम काँकडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएका थिए। त्यसैले उनकै नामबाट यो अमरगढी किल्लाका रूपमा परिचित छ। काँकडा र कुमाउको अलमोडामा नेपालले हार बेहोरेपछि यो क्षेत्रको सदरमुकाम दीपायल सिलगढी सरेको बताइन्छ।

अमरगढी किल्लाभित्र सैनिकका लागि २२ वटा गुफा बनाइयो । त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्रनिरोध मार्ग निर्माण गरिएको छ। किल्लाको माथिल्लो भागका ठूलाठूला रुखले किल्लाकै ऐतिहासिक गौरव झल्किन्छ भने किल्लाको बीच भागका रहेको भैरव मन्दिरले धार्मिक महत्त्व झल्काउँछ।

किल्लाको अवस्था बेहाल

अमरगढी किल्लाको प्रवेशद्वारमा बडाकाजी अमरसिंह थापाको सालिक छ, जहाँ ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ’ लेखिएको छ। त्यही किल्लाको नामले डडेल्धुरा जिल्ला सदरमुकाम रहेको नगरपालिकाको नामाकरण भएको छ अमरगढी।

तर, किल्ला संरक्षणमा सरोकारवाला निकायले चासो नदिँदा ओझेलमा पर्दै गएको छ। किल्लाको मर्मत सम्भार गर्दा मासको दालको प्रयोग गरिएको ठाउँमा सिमेन्ट प्रयोग भएकाले पुरानो संरचना बिग्रिएको स्थानीय सागर नगरकोटी बताउँछन्।

उनका अनुसार अमरगढी किल्लामा रहेका ऐतिहासिक हतियार अहिले किल्लामा छैनन्। किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार थिए, अहिले भेटिँदैन। ‘किल्लाभित्र तोप, बन्दुक, घरेलु भाला, गोलालगायतका हातहतियार देखेको थिएँ। तर, अहिले छैनन्,’ उनले भने।

युद्ध लड्दा प्रयोग भएका घरेलु हातहतियार, बन्दुकलगायत अन्य हतियार रहेको र त्यसबेला प्रत्येक वर्ष दसैंको फूलपातीको दिनमा किल्लामा रहेका राजा तथा रानी तोप लगेर टुँडीखेलमा पड्काउने गरेको नगरकोटीको भनाइ छ।

सम्बन्धित निकायको उदासीनताका कारण हतियार गायब भएको स्थानीयको आरोप छ। बाहिरबाट हेर्दा चिटिक्क परेको किल्ला हेर्न पुग्ने पर्यटकको मनसमेत खिन्न हुन्छ। महेन्द्र नगरबाट किल्ला हेर्न डडेल्धुरा पुगेका जिकेश महरा भन्छन्, ‘बाहिर चिटिक्क परेको छ। भित्र हेर्न लायक केही पनि रहेनछ। ढुङ्गा मात्र हेर्न पाएँ।’

स्थानीयले ऐतिहासिक हात हतियार गायब भएसँगै किल्लाको महत्व घटेको समेत बताए। नेपालमा अमरगढी किल्ला र सिन्धुलीगढी किल्ला मात्र अस्तित्वमा रहेका छन्। २०५८ देखि २०६६ सालसम्म तत्कालीन विद्रोही माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन अमरगढी किल्ला नेपाली सेनाले आफ्नो मातहतमा थियो।

त्यही समय सेनाले हतियार लगेर गएको किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रविण जैरु बताउँछन्। अमरगढी नगरपालिकाले समेत सेनासँग समन्वय गरेर हतियार फिर्ता ल्याउने पटकपटक आश्वासान दिए पनि अझैँ ल्याउन सकेको छैन। किल्ला अहिले अमरगढी नगरपालिका मातहत छ।

कोतघरलाई त्रिपालको घुम्टो

अमरगढी किल्लामा निर्माण गरिएको कोतघर समेत जीर्ण बनेको छ। डडेल्धुरामा रहेको नेपाली सेनाको तत्कालीन रणबम गणले नागरिक–सैनिक सम्बन्ध कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँको लागतमा कोतघर निर्माण गरी १३ कात्तिक २०७७ अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको थियो।

भग्नावशेषका रूपमा रहेको कोतघरलाई सेनाले पुस्तकालयसहितको कोतघर निर्माण गरी एक थान कम्प्युटर सहित कोतघर अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको एक वर्ष नपुग्दै जीर्ण भएको छ। कोतघरको धुरीमा राखिएको काठ भाँच्चिएर चुहिन थालेपछि कोतघरमाथि त्रिपाल हालेर राखिएको छ।

करोडौँका टायलः बालुवामा पानी सरह

फलामे तारले घेरबार गरिएको किल्ला बाहिर पर्खाल निर्माण गरिएको छ। साना सहरी विकास तथा भवन डिभिजन कार्यालयबाट टेन्डर भएर गत वर्ष एक करोड ९६ लाखमा लक्ष्मी कन्ट्रक्सनले बनाउने जिम्मा दिइएको थियो।

तर, ति टायल आफैँ खस्दै गएका छन्। टायल लगाउने समयमै लक्ष्मी कन्ट्रक्सनले मनपरि गर्न थालेपछि आफूले सम्झाएको स्थानीय शुरेस थापाले बताए। ‘अहिले त एक वर्ष भन्दा बढी भइसक्यो। यो त फुट्ने नै भयो। लगाउने बेला नै फुटेको थियो,’ उनले भने, ‘चिटिक्क साइज अनुसार बनाउन छोडेर मनपरी गरेपछि यस्तो भयो।’

हामीले भएन भनेर आवाज उठाएको भएपनि आर्थिक रूपले फाइदा लिनको लागि उनीहरूले जथाभावी रूपमा बनाएको उनी बताउँछन्। टायल आफैं खस्न थालेपछि खसेको टायल किल्ला नजिकका स्थानीय लैजाने गरेको स्थानीयको भनाइ छ।

टायल लगाउने समयमा अमरगढी नगरपालिकाले अनुगमन गरेको थियो। तर, ठेकेदार र नगरपालिकाका कर्मचारीको मिलेमतोमा कमसल खालको सामग्री प्रयोग गरिएको स्थानीयको आरोप छ। दीर्घकालिन योजना बनाएर काम नगरी हचुवाको भरमा काम गर्दा किल्लाको अस्तित्व नै धरापमा परेको हो।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: