अमेरिकाका प्रविधि कम्पनीहरूमा भारतीय मूलका कार्यकारीहरूको प्रभाव यसकारण बढ्दाे « Nagarik Khabar

अमेरिकाका प्रविधि कम्पनीहरूमा भारतीय मूलका कार्यकारीहरूको प्रभाव यसकारण बढ्दाे



ट्विटरको प्रमुख कार्यकारी अधिकृतमा पराग अग्रवाल नियुक्त भएपछि सिलिकन भ्यालीस्थित विश्वकै प्रभावशाली कम्पनीहरूमा कार्यरत दर्जनौँ भारतीय मूलका शीर्ष प्राविधिकमा अर्का एक जना थपिएका छन्।

माइक्रोसफ्टका सत्य नडेला, अल्फाबेटका सुन्दर पिचाईसहित आईबीएम, अडोबी, पालो अल्टो नेटवर्क्स, भीएमवेअर र भिमिओको नेतृत्व भारतीय मूल मानिसले नै गरिरहेका छन्। अमेरिकाको कुल जनसङ्ख्यामा भारतीय मूलका मानिस १ प्रतिशतजति मात्रै भए पनि सिलिकन भ्यालीमा काम गर्नेमा ६ प्रतिशत भारतीय मूलका छन्। त्यसमाथि पनि उनीहरूको प्रतिनिधित्व शीर्षस्थ पद कसरी हुन पुग्छ?

“विश्वमा कुनै पनि अर्को देशले भारतले जसरी यति धेरै नागरिकहरूलाई अति मेहनतका साथ तालिम गराउँदैन,” टाटा सन्सका भूतपूर्व कार्यकारी निर्देशक र मेड इन इन्डिया म्यानेजरका सहलेखक आर गोपालकृष्णन भन्छन्।

“जन्मदर्तादेखि मृत्युदर्ताको प्रमाणपत्रसम्म, विद्यालयमा भर्ना हुनदेखि जागिर पाउनसम्म, स्रोतसाधनको अभावदेखि अपर्याप्त क्षमताजस्ता समस्याले भारतमा हुर्किने जोसुकै मानिसलाई स्वतः व्यवस्थापक बनाउँछ,” चर्चित भारतीय कर्पोरेट रणनीतिकार सीके प्रह्लादलाई उद्धृत गर्दै उनले भने।

प्रतिस्पर्धा र अस्तव्यस्तताले उनीहरूलाई सबै परिस्थितिमा सहजै अनुकूल हुन र समस्या समाधान गर्न सक्ने बनाउने उनको बुझाइ छ। व्यक्तिगत भन्दा पेसागत कामलाई प्राथमिकता दिने उनीहरूको स्वभावले अमेरिकी कार्यशैली भएका ठाउँमा थप सहयोग गर्ने उनी बताउँछन्।

“विश्वको जुनसुकै ठाउँमा पनि नेतृत्व तहमा रहेकाहरूको विशेषता यही नै हुन्छ,” गोपालकृष्णन भन्छन्। भारतमा जन्मिएका सिलिकन भ्यालीका प्रमुख कार्यकारीहरू अमेरिकामा रहेका त्यस्ता ४० लाख अल्पसङ्ख्यक हुन् जो अमेरिकामा सबैभन्दा धनाढ्य र अतिशिक्षित वर्गमा पर्छन्।

त्यसमध्ये पनि १० लाख वैज्ञानिक र इन्जिनियरहरू छन्। एचवनबी भिसा भनिने अमेरिकाले जारी गर्ने श्रम अनुमति भएका भिसाहरू ७० प्रतिशत भारतीय सफ्टवेअर इन्जिनियरहरूले पाउने गरेका छन्। अर्को रोचक तथ्य के छ भने सियाटलजस्ता सहरमा रहेका सबै विदेशमा जन्मिएका इन्जिनियरमध्ये ४० प्रतिशत भारतीय छन्।

“यो सन् १९६० को दशकमा आप्रवासी नीतिमा भएको व्यापक परिवर्तनको परिणाम हो,” ‘अदर वन पर्सेन्ट: इन्डियन्स इन अमेरिका’ का लेखकहरूले उल्लेख गरेका छन्।

नागरिक अधिकार आन्दोलनपछि राष्ट्रियताका आधारमा छुट्टाइएको कोटालाई विस्थापित गर्दै सीप र परिवार मिलनलाई प्राथमिकतामा राखियो। त्यसलगत्तै राम्रो पढाइ भएका भारतीयहरू अमेरिका जान सुरु गरे। पहिलो चरणमा वैज्ञानिक, इन्जिनियर र डाक्टरहरू गए भने दोस्रो चरणमा सफ्टवेअर प्रोग्र्यामरहरूको ठूलो सङ्ख्या अमेरिका पुग्यो। भारतीय आप्रवासीहरूको यो समूह “अरू कुनै देशका कुनै आप्रवासीको समूहसँग मिल्दोजुल्दो थिएन” लेखकहरूले भनेका छन्।

उनीहरू निकै विशेष रूपमा छानिएका थिए। प्रतिष्ठित कलेजहरूमा भर्ना हुन सक्ने उच्च र कुलीन वर्गका मानिस मात्र थिएनन्, उनीहरू सानो यस्तो वर्गका पनि थिए जो अमेरिकामा स्नातकोत्तर गर्नका लागि मात्रै खर्च जुटाउन सक्थे। सिलिकन भ्यालीका धेरै प्रमुख कार्यकारी अधिकृतहरूले ती कलेजमा अध्ययन गरेका छन्।

अमेरिकाले पुनः भिसा प्रणालीमा परिवर्तन गर्दै विशेष सीप भएकाहरूलाई मात्रै सहज प्रवेशको व्यवस्था गर्‍यो। जसमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितजस्ता अमेरिकाको श्रम बजारमा उच्च माग भएका जनशक्तिहरू थिए।

“उनीहरू राम्रोमध्येका पनि राम्रा मानिस थिए जो उदीयमान कम्पनीहरूमा संलग्न भएर प्रमुख पदमा पुग्न सफल भए,” प्रविधि उद्यमी तथा प्राज्ञ विवेक वाध्वा भन्छन्। “उनीहरूले सिलिकल भ्यालीमा बनाएको सञ्जालले पनि उनीहरूलाई लाभ पुग्यो। त्यो एकअर्कालाई सहयोग गर्ने उपाय पनि थियो।”

वाध्वाका अनुसार भारतीय मूलका कार्यकारीहरू कम्पनीमा बढुवाको सिँढी उक्लिँदै त्यो पदमा पुगेका हुन्। त्यसैले उनीहरू सधैँ नम्र भए। घमन्डी र आफ्नो दृष्टिकोण र व्यवस्थापनमा अडिग हुने आरोप लाग्ने गरेका संस्थापक कार्यकारीहरूभन्दा भारतीय मूलका कार्यकारीहरू भिन्न देखिए।

नडेला र पिचाईले पनि कम्पनीमा एक हदसम्म सावधान गराउने पुनरावृत्ति गरेका छन् तर उनीहरूको भद्र संस्कृतिले प्रमुख पदको लागि आदर्श उम्मेदवार बनाएको छ। विशेषतः संसदीय सुनुवाइ, विदेशी सरकारहरूसँगको विवादमा ठूला प्रविधि कम्पनीहरूको घट्दो प्रतिष्ठा र सिलिकल भ्यालीका धनीहरू र बाँकी अमेरिकीहरूबीचको खाडल बढिरहेका बेला उनीहरू कार्यकारी पदमा पुगेका छन्।

उनीहरूको “सरल र अरूसँग नम्र भएर प्रस्तुत हुने नेतृत्व” अरूभन्दा विशेष भएको ब्लूम्बर्गका लागि भारतको प्रविधि उद्योगबारे समाचार लेख्दै आएकी सरिता राय भन्छिन्।

“भारतको विविधतायुक्त समाज र धेरै स्थानीय भाषाहरूले उनीहरूलाई अप्ठ्यारा परिस्थितिहरू पहिचान गर्ने र विशेषतः संस्थालाई आकलन गर्ने क्षमता दियो,” सन माइक्रो सिस्टमका सहसंस्थापक समेत रहेका भारतीय मूलका अमेरिकी अर्बपति विनोद खोस्ला बताउँछन्। “योसँगै कडा परिश्रम गर्ने नैतिकताले उनीहरूलाई त्यहाँ स्थापित गर्‍यो।”

यसबाहेक थप स्वाभाविक कारणहरू पनि छन्। धेरै भारतीयहरू राम्रोसँग अङ्ग्रेजी बोल्न जान्ने भएका कारण पनि उनीहरू विविधतायुक्त अमेरिकी प्रविधि उद्योगमा सजिलै मिल्न सक्छन्।

अर्कोतर्फ गणित र विज्ञान विषयलाई प्राथमिकता दिने भारतीय शिक्षा प्रणालीले फस्टाउँदो सफ्टवेअर उद्योग जन्माएको छ, उचित सीप भएका तालिमप्राप्त जनशक्ति हुर्काएको छ जसको भविष्य अमेरिकाका शीर्ष इन्जिनियरिङ र व्यवस्थापन कलेजहरूमा उज्ज्वल छ।

“अर्को शब्दमा भन्नुपर्दा भारतमा जन्मिएका कार्यकारीहरूको अमेरिकामा सफलता अमेरिकाको कुन पक्ष ठिक छ भन्नेसँग पनि सम्बन्धित छ। अथवा सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकामा आप्रवासन थप नियन्त्रित हुनुअघि भारतमा के सही थियो भन्ने पनि हो,” अर्थशास्त्री रूपा सुब्रमण्यले फरेन पलिसी म्यागजीनमा लेखेकी छन्।

अमेरिकाको ग्रीनकार्डका लागि आवेदनहरूमा समयमै निर्णय नहुनु र भारतीय बजारमा बढ्दो अवसरले मानिसहरूलाई विदेशमा पेसागत भविष्य खोज्ने आकर्षणबाट निरुत्साहित गरेको छ।

“अमेरिकी सपनालाई भारतमा आधारित स्टार्ट-अप सपनाले प्रतिस्थापन गर्दैछ,” राय भन्छिन्। एक अर्ब डलरभन्दा बढीका भारतीय यूनिकर्न कम्पनीहरूको उदयले यो देशले अझै प्रविधि कम्पनीहरू जन्माउँदै जाने सङ्केत गरेको विज्ञहरू बताउँछन्। तर तिनीहरूको वैश्विक बजारमा कस्तो प्रभाव रहन्छ अहिले नै भन्न नसकिने उनीहरूको भनाइ छ।

“भारतको स्टार्ट-अप चक्र नयाँ अहिले शिशु अवस्थामै छ। तर आदर्श पात्रका रूपमा सफल भएका भारतीय उद्यमी र कार्यकारी पदमा पुगेकाहरूले यसलाई थप सहयोग गर्छ। तर ती आदर्शहरूलाई फैलन समय लाग्छ,” खोस्लाले भने।

तर सिलिकल भ्यालीको प्रमुख कार्यकारी अधिकृत अधिकांश आदर्श पात्रहरू पुरुष छन्। र उनीहरूको तीव्र उदय मात्रै यो उद्योगमा थप विविधता अपेक्षा गर्न पर्याप्त नभएको विज्ञहरू बताउँछन्। “(प्रविधि कम्पनीहरूमा) महिलाहरूको प्रतिनिधित्व जति हुनुपर्थ्यो त्यसको छेउछाउ पनि भएको छैन,” राय भन्छिन्।

  • बीबीसीबाट
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: