घिउसँग नुन साट्ने ‘बटौली बजार’मा सम्भावनाको खोजी गरिँदै « Nagarik Khabar

घिउसँग नुन साट्ने ‘बटौली बजार’मा सम्भावनाको खोजी गरिँदै



बुटवल । इतिहास र संस्कृति बोकेको पुरानो बटौली बजारको संरक्षणका लागि सम्भावनाहरूको खोजी गर्न थालिएको छ । पुर्खाहरूले पहाडबाट ल्याएको घिउ बेचेर नुन साट्ने बजारको रुपमा परिचित पुरानो बटौली बजारको संरक्षण गर्न भन्दै सरोकारवालाले पहल थालेका हुन् ।

बटौलीको प्रवद्र्धन गर्ने हो भने इतिहासको पनि संरक्षण हुने र त्यसलाई ब्राण्डिङ गर्न सके यसबाट फाइदा लिन सकिने भएकाले ऐतिहासिक बटौलीमा सम्भावनाको खोजी हुन थालेको हो ।

अहिले यसको संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले सडक व्यवस्थापन, बार म्युजियम, जीतगढीमा पर्यटन विकासको लागि नेपाली सेनासँग मिलेर काम अगाडि बढाएको छ ।

‘बटौलीको संरक्षण र विकासका लागि उपमहानगरपालिकाले कामको सुरुवात गरेको छ, सरोकारवाला सबैको सहयोगमा ऐतिहासिकता बोकेको बटौली बजारलाई संस्कृतिको रूपमा विकास गर्न थालिएको छ,’ बुटवल–१ का वडाअध्यक्ष महेन्द्र लिगलले भने ।

१७६२–६३ सालतिर सुरु भएको बटौली बजार २०२६–२७ सालसम्म उत्तिकै चहलपहल थियो । तर, २०२६ सालमा पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माणसँगै बजार विस्तार हुँदै तिनाउ नदीभन्दा पूर्व स¥यो भने बटौली विस्थापित हुँदै गएको त्यसका जानकार बटौली संरक्षण तथा सम्वर्द्धन समितिका अध्यक्ष रविन्द्रगोपाल लाकौलको भनाइ छ ।

पुरानो बटौली बजार बुटवलको इतिहास हो । इतिहासको संरक्षणसँगै त्यसको ऐतिहासिक महत्वको प्रचारप्रसार गर्न सक्ने हो भने त्यसका माध्यमबाट यहाँको आर्थिक क्रियाकलापसमेत बढाउन सकिने लाकौलको तर्क छ । बुटवल उपमहानगरपालिकाले बटौलीको संरक्षणका लागि भन्दै तीन–चार वर्षयता छलफल चलाउँदै आएको छ ।

वि.सं. १७६२–६३ तिर व्यापार गर्न जानेका कस्मिरका कसौधनलाई ल्याएर बटौलीमा व्यापारको लागि राखेको भन्ने भनाइ छ । त्यसयता उक्त बजार बटौलीसँगै जोडिने नवलपरासी, कपिलवस्तुसहित पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, प्युठान लगायत २२ जिल्लाको व्यापारको केन्द्र बनेको थियो । पहाडी जिल्लाबाट त्यहाँ उत्पादन हुने घिउ, अदुवा, बेसार लगायतका जडिबुटीजन्य उत्पादन ल्याउँथे भने बटौलीबाट नुन, लत्ताकपडा लगायतका बजार गरेर फर्किन्थे ।

तत्कालीन पाल्पा राज्यका सेन वंशीय राजा मणिमुकुन्द सेनको शीतकालीन दरवार पनि त्यसै क्षेत्रमा थियो । जहाँ अहिले फूलबारी (मणिमुकुन्द उद्यान) बनेको छ । त्यसभित्र अहिले पनि मणिमुकुन्द सेनको सितकालीन दरवारको भग्नावशेष छ ।

नेपालमाथि अग्रेजले गरेको आक्रमणमा जीत हात पारेको गढी किल्ला पनि यसै क्षेत्रमा पर्दछ । नेपालले जीत हात पारेपछि उक्त गढी किल्लालाई जीतगढी किल्ला भनिएको हो । त्यसबाहेक मणिमुकुन्द सेनले काठमाडौबाट आएपछि स्थापना गरेको भैरवको मन्दिर पनि यसै क्षेत्रमा छ । जुन मन्दिर पाल्पाको भैरवस्थान मन्दिरभन्दा पनि पुरानो मानिन्छ । यो मन्दिर कहिले स्थापना भयो ठ्याक्कै भन्न नसकिए पनि पाल्पाको भैरवस्थान मन्दिर १३ शताब्दीतिरको भएकोले त्योभन्दा पनि बुटवलको पुरानो भएको यसका जानकार रविन्द्रगोपाल लाकौलको भनाइ छ ।

त्यस्तै गणेशथान मन्दिर, गुम्बा र मुस्लिमको मस्जिद पनि भएकाले बटौलीको संरक्षण र विकास गर्न सक्ने हो भने सबै प्रकारका धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उनको भनाइ छ । बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा बटौलीलाई नजिकबाट नियालेका सञ्जय कलवार जयसवालले ऐतिहासिक जीतगढी किल्ला, पुराना मठमन्दिरहरूको संरक्षण गर्न सकियो भने पर्यटनको केन्द्रको रुपमा बटौलीलाई विकास गर्न सकिने बताउँछन् ।

बुटवल उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर गौतम रौनियारले उपमहानगरपालिकाले यस क्षेत्रमा अहिले तीनवटा काम अगाडि बढाएको जानकारी दिए । पुरानो इतिहाससमेत समेटिनेगरी वार म्युजियम र जीतगढी किल्लामा पर्यटन विकासका काम भइरहेको उनले बताए । जहाँ नेपाल–अंग्रेज युद्ध झल्किने दुश्य समावेश गरिनेछ । जुन दुवै काम अहिले अन्तिम चरणमा पुगेका छन् ।

अहिले काठमाडौँ पुलचोक इञ्जिनियरिङ कलेजको प्राध्यापक तथा आर्किटेक विद्यार्थीको टोलीले बटौलीको स्थलगत अवलोकन गरिरहेको छ । स्थलगत अवलोकनपछि काठमाडौँ फर्केर कानुन तथा अर्थ विज्ञहरूसँग समेत परामर्श गरेर दुई महिनाभित्र प्रतिवेदन तयार गरिने र नगरपालिकालाई प्रदान गरिने पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक अजयचन्द्र लालले बताए ।

निर्माणाधीन केवलकारको पहिलो स्टेशन पनि बटौलीको सिरानमा छ । यसले अझै चहलपहल बढाउने विश्वास बटौलीवासीको छ । बुटवल उपमहानगरले युद्ध संग्रहालय निर्माणको काम पनि थालेको छ ।

युद्ध संग्रहालय र बुटवलको सौन्दर्यीकरणका लागि दुई अर्ब बजेट आवश्यक पर्ने उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन् । ६ करोड ८२ लाख ५० हजार रुपैयाँको लागतमा युद्ध संग्रहालय निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: