नेता पुन अझै केही दिन आराम गर्ने, आज नफर्कने « Nagarik Khabar

नेता पुन अझै केही दिन आराम गर्ने, आज नफर्कने



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश नफर्कने भएका छन । चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचाररत नेता पुनको आज स्वदेश फर्कने योजना रहे पनि चिकित्सकको सुझाव अनुसार आज फर्कने योजना स्थगित भएको हो । डाक्टरले पुनलाई थप एक दुई दिन आराम गर्न र तत्कालै स्वदेश नफर्कन सुझाव दिएको पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिए।

काठमाडौंबाट उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन सिधै उपचारका लागि चीन‍ गएका थिए। जण्डिसको वंशानुगत समस्या भएका उनी उपचारका लागि चीन गएका हुन्। पुन छिट्टै स्वदेश फर्कने भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय बैठकमा पदाधिकारी चयन नगरी २५ गतेसम्म बैठक स्थगित भएको जानकारी गराएका थिए।

चिकित्सकका अनुसार नेता पुन ‘क्रिग्लर–नजर–टाइप टु सिन्ड्रोम’ नामक दुर्लभ समस्याबाट पीडित छन्। यो वंशाणुगत रोग भएको बताइएको छ। पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविकरूपमा बढेको चिकित्सकहरूले बताएका थिए। चिकित्सकहरुका अनुसार ‘क्रिग्लर नजर सिम्टम’ भनेको सानो उमेरदेखि वा जन्मजात नै हुने जण्डिस टाइपको एक प्रकारको रोग हो। जण्डिस भएपछि मानिसमा पहेँलोपना आउने कारकलाई ‘बीलीरुबीन’ पनि भनिन्छ।

चिकित्सकीय भाषामा ‘बीलीरुबीन’ ले जण्डिस गराउने पित्तको लेभल बढाउनु हो। यो बढिरहेको अवस्थामा कहिलेकाहीँ इन्फेक्सन (संक्रमण) भइदियो वा कलेजोलाई असर पार्ने औषधिहरु चल्यो वा कलेजोमा कुनै समस्या आइदियो भने देखिएको जण्डिसलाई झन् बढावा दिन्छ। त्यही अवस्थालाई ‘क्रिग्लर नजर सिम्टम’ भनिन्छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: