निर्वाचनको म्यान्डेट मान्दा अरुको टाउको दुख्यो : प्रकाशमान सिंह (भिडियाे) « Nagarik Khabar

निर्वाचनको म्यान्डेट मान्दा अरुको टाउको दुख्यो : प्रकाशमान सिंह (भिडियाे)



काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको स्पष्ट पारेका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झन्डोत्तलन कार्यक्रममा नेता सिंहले पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री देउवालाई सभापतिमा सघाएको बताएका हुन् ।

नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको तर्क गरे ।

“दुईवटा एजेन्डा बोकेर म यसपटक उठेको हुँ । एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ । दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो । त्यो एजेन्डामा भोट मागेको हुँ,” सिंहले भने,“फर्स्ट राउन्डको म्यान्डेट मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो । डेमोक्रेटिक पार्टीको डेमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेट त मान्नुपर्यो नि ।”

उनले पहिलो चरणको निर्वाचनको म्यान्डेड मान्दा धेरैको टाउको दुखेको पनि टिप्पणी गरे । “मैले त्यो म्यान्डेट मान्यो भनेर कपाल दुखाइ छ यहाँ,” उनले भने ।

आफूले दोस्रो चरणमा सभापतिमा देउवालाई समर्थन गरेपछि पार्टीभित्रकै केही नेताहरुले नियोजित रुपमा आफूमाथि प्रहार गरेको गुनासो गरे । सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत् पटक–पटक अनावश्यक टिकाटिप्पणी गरिएको उनको भनाइ छ ।

“उनीहरुले चाहे जस्तो गरे प्रकाशमान ठिक, उनीहरुको इच्छाविपरीत उभिँदा प्रकाशमान सिंहले अपराध नै गरेजस्तो गरी प्रचारप्रसार भयो,” उनले भने ।

नेता सिंहले कोरोना महामारीका बीचमा पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरेर पार्टीको काममा निरन्तर खटिरहन पनि नेता–कार्यकर्ताहरुसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: