ए डिभिजन लिग : एपिएफको दोस्रो जित « Nagarik Khabar

ए डिभिजन लिग : एपिएफको दोस्रो जित



काठमाडौँ । सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पालाई १–० गोल अन्तरले पराजित गर्दै रेलिगेसन संकटबाट माथि उठ्ने सम्भावना जीवितै राखेको छ ।

आभाष लामिछानेको निर्णायक गोलमा एपिएफले दोस्रो जित निकाल्यो । पहिलो हाफको इन्जुरी समयमा नवीन लामाको कर्नरमा आभाषले उत्कृष्ट हेड गोल गरे ।

बाँकी समय दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । शेर्पाविरुद्ध एपिएफले तीन विदेशी खेलाडी उतारेको थियो । पहिलो हाफको इन्जुरी समयमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन ।

एपिएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार अकासिएको थियो ।

६३औँ मिनेटमा मिलनको कर्नरमा उलरिच सिइबीले गरेको हेड बाहिरिँदा हिमालयनले खेलमा फर्कने अवसर गुमायो ।

७०औँ मिनेटमा अर्मान्डले गरेको प्रहार हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले रोक्दा एपिएफले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।

जारी लिगमा एपिएफको यो दोस्रो जित हो । यसअघि एपिएफले फ्रेन्डस क्लबमाथि जित हात पारेको थियो ।

हिमालयनको भने यो लगातार दोस्रो हार हो । हिमालयन पछिल्लो खेलमा थ्री स्टार क्लबसँग पराजित भएको थियो ।

जितपछि एपिएफले नौ खेलमा १० अंकसहित आठौँ स्थानमा उक्लिएको छ । समान खेलमा ११ अंकसहित हिमालयन शेर्पा छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: