लमजुङमा आयोजित ठाडोभाकाको उपाधि सन्तबहादुरको टोलीलाई « Nagarik Khabar

लमजुङमा आयोजित ठाडोभाकाको उपाधि सन्तबहादुरको टोलीलाई



लमजुङ । लमजुङमा आयोजना गरिएको लोपोन्मुख ठाडो भाकाको तेस्रो खुल्ला प्रतियोगिताको उपाधि सुवेदार सन्तबहादुर गुरुङको टोलीले हात पारेको छ । जिल्लाको मध्यनेपाल नगरपालिका १० हाडीखोलाको बर्धन गाउँमा तेस्रो खुल्ला प्रतियोगिता आयोजना गरिएको हो । लोपोन्मुख ठाडोभाकाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो स्थापना दिवसको अवसर पारी विगत तीनवर्षदेखि सो प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतियोगितामा युवापुस्ताको आर्कषण बढेसँगै नयाँ पुस्तामा ठाडोभाका गीत हस्तान्तरण हुन् थालेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए । ०७६ सालदेखि शुरु भएको प्रतियोगिता ठाडोभाकाको जगेर्ना र प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरीएको अध्यक्ष पहाडकिो भनाई छ । प्रतियोगीतामा कुल १३ टिमले भाग लिएका थिए ।

प्रतियोगिताको फाइनलामा मध्यनेपाल नगरपालिका ७ करापुटारका सुवेदार सन्तबहादुर गुरुङको टोली प्रथम भएको छ । प्रतियोगिताले ठाडोभाकाको संरक्षणमा विशेष योगदान पुराएको दोहोरी गीत प्रतिष्ठान नेपालको संस्थापक केन्द्रीय अध्यक्ष अटल विरही गुरुङले बताए ।

प्रतियोगितामा सुन्दरबजार नगरपालिका १० कालीबहादुर पुई दुराको टोलि द्वितीय, दोर्दी गाँउपालिका ५ पाचोक गाउँका ६५ वर्षीय श्रीमान् तामाङको टोली तेस्रो र सुन्दरबजार ११ सिन्दूरे गाउँका नरसुब्बा दुराको टोलीले सान्त्वना भएका छन । यस वर्ष २५ वर्ष भन्दा कम उमेरका सहभागी नवीन बराललाई नवप्रतिभा पुरस्कार प्रदान गरिएको गुरुङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार र प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद २० हजार र प्रमाणपत्र, तेस्रो हुनेलाई नगद १० हजार र प्रमाणपत्र र सान्त्वना हुने टिमलाई नगद पाँच हजार र प्रमाणपत्र तथा नवप्रतिभालाई तीन हजार नगद र प्रमाणपत्र प्रदान गरिएको आयोजक प्रतिष्ठानकी कार्यकारी समस्य सीता दुराले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: