युएइका राजकुमारले दिए दुबइको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी « Nagarik Khabar

युएइका राजकुमारले दिए दुबइको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी



काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएइ)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबइको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिएका छन् ।

सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने युएइको अबुधावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

स्रोतका अनुसार युएइका राजकुमारले गत शुक्रबार पाण्डेको सजाय माफ गरिदिएका थिए ।

युएइको अदालतले पत्रकार पाण्डेलाई तीन महिना जेल, २० हजार दिराम जरिबाना, नेपाल डिपोर्टलगायतको सजाय सुनाएको थियो । सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै अबुधावीस्थित नेपाली दूतावासका पदाधिकारीको उजुरीमा उनलाई उक्त सजाय सुनाइएको थियो ।

पत्रकार पाण्डेलाई जेल सजाय सुनाइएपछि नेपालमा त्यसको विरोध भएको थियो । त्यसपछि युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएइमा रहेका प्राज्ञिक व्यक्तिलाई उनको सजाय माफीका लागि गत बुधबार भेटी अनुरोध गरेका थिए । ती प्राज्ञिक व्यक्तिहरुले युएइका राजकुमारसमक्ष कुरा पुर्याएका थिए । त्यसपछि राजकुमारले सजाय माफी गरेको दूतावास स्रोतले बताएको छ ।

नेपाल डिपोर्ट नहुने गरी पत्रकार पाण्डेको सजाय माफी गरिएको दूतावास स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: