उद्योगमा अघोषित लोडसेडिङ, मारमा उद्योगी–व्यवसायी « Nagarik Khabar

उद्योगमा अघोषित लोडसेडिङ, मारमा उद्योगी–व्यवसायी



  • मोहम्मद हबिब

भैरहवा । कोभिडले थला परेको उद्योगी व्यवसायी विस्तारै चलायमान हुन थालेपनि अघोषित लोडसेडिङको मारमा परेका छन् ।

अघोषित रुपमा लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका दर्जन बढी उद्योगको उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् । विद्युत अनियमित हुँदा यहाँका उद्योगी, व्यवसायी मात्रै होइन सर्वसाधरण पनि सहज ढंगले काम गर्न पाएका छैनन् । अत्यधिक गर्मीबीच अघोषित रुपमा भइरहेको लोडसेटिङले आमनागरिकको जीवन पनि कष्टकर बन्दै गएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले उद्योगमा एक महिनादेखि दैनिक १२ घण्टा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गरिएको अघोषित रुपमा लोडसेडिङले उद्योग सञ्चालनमा समस्या आएको बताए ।

दिनको समयमा पनि पटक–पटकको ट्रिपिङ, लो भोल्टेजको कारण उद्योगमा उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रने, उत्पादन गर्न नसकेकाले बजारमा मालवस्तुको अभाव हुने तथा अन्य विविध प्रकारका नोक्सानी व्यहोर्नुपरेको उनले बताए । “घन्टौँ लगाएर कतिपय वस्तुको उत्पादन हुन्छ बीचमै विधुत गएर ती वस्तु उत्पादन नभइ फाल्नु पर्ने हुन्छ जसले लागत पनि बढेको छ,” अध्यक्ष न्यौपानेले भने । नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखा, प्रादेशिक कार्यालय र वितरण केन्द्र भैरहवा, बुटवल र नयाँ मिलमा ध्यानाकर्षण गराइएको उनले बताए ।

रुपन्देहीका ३३ केभीए विद्युततबाट चल्ने ५० बढी उद्योगमा वैशाख दोस्रो सातादेखि दैनिक १२ देखि १६ घन्टा अघोषित लोडसेडिङ भइरहेको संघका एसोसियट सदस्य विकास गोयनकाले बताए । यी क्षेत्रमा दैनिक बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विद्युत आपूर्ति ठप्प हुने गरेको छ ।

विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले विद्युत आपूर्तिमा समस्या भएको कारण उद्योगतर्फ समस्या आएको बताए । “आएको विद्युत वितरण गर्ने हो, उद्योगको माग अनुसारको आपूर्ति नभएकाले विद्युत अनियमित हुने गरेको छ यो अघोषित लोडसेडिङ होइन,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: